अपाङ्ग टेवा संस्था र ह्वीलचियर फाउण्डेशनले देशका विभिन्न ठाउँमा ह्वीलचियर वितरण

वि.सं.२०७९ मंसिर २९ बिहीवार

काठमाडौं । अपाङ्ग टेवा संस्था र ह्वीलचियर फाउण्डेशनले देशका विभिन्न ठाउँमा ह्वीलचियर वितरण गरिरहेको छ ।
विगत लामो समयदेखि ह्वीलचियर मर्मत, वितरण तथा अपाङ्गता भएका ब्यक्तिहको जीवन सहज र सरल बनाउन होस्टल संचालन गर्दै आएको अपाङ्ग टेवा संस्थाले ह्वीलचियर फाउण्डेशनको सहयोगमा देशैभरीका अपाङ्गता भएका ब्यक्तिहरुलाई आवश्यकता हेरी ह्वील चियर वितरण गर्दै आईरहेको छ ।
विशेष किसिमको ह्वीलचियर लिनेमा भक्तपुरबाट अर्वाचिन अधिकारी, आर्यन श्रेष्ठ, दिब्यांस चन्द, सुमित गौतम, आश्मा सिग्देल, हिमाल गौतम लगायतका बालबालिका रहेका छन् ।
आफ्ना बालबालिकाले आवश्यकता अनुरुपको विशेष किसिमको ह्वीलचियर प्राप्त गरेकोमा संरक्षकहरु खुशी भएका छन् ।
बच्चालाई लिएर हिँडडुल गराउन सजिलो हुने भएकाले कुनैठाउँमा जानबाट बन्चित हुनु नपर्ने हुँदा यस्ता किसिमका विशेष ह्वील चियर सबै बालबालिकाको पहुँचमा पुग्नु पर्ने र यसकालागि राज्यले ह्वीलचियर वितरण प्राथमिकतामा राख्नु पर्ने संरक्षक तथा चित्रपुर अभिभावक स्वावलम्बन समुहकी अध्यक्ष ज्योति खतिवडाको धारणा छ ।
मस्तिष्क पक्षघात भएका बालबालिकाका लागि छुट्टै विशेष किसिमको ह्वीलचियर ५० वटा तथा सामान्य किसिमको अन्य ह्वीलचियर गरी जम्मा १५८ वटा वितरण गरिने अपाङ्ग टेवा संस्थाका अध्यक्ष डेण्डी शेर्पाले जानकारी दिनुभयो ।
नेपालमा अपाङ्गता भएका ब्यक्तिहरुकालागि पहुँच र सेवा सम्बन्धी केही नीति र कानून भएपनि कार्यान्वयन पक्ष कमजोर हुँदा उनीहरुले पाउने सेवा सुविधा प्राप्त गर्न सकिरहेका छैनन् ।
अपाङ्गता भएका ब्यक्तिहरुको पनि अन्य नागरिक जस्तै विद्यालय, अस्पताल, बजार, कार्यस्थलजस्ता सार्वजनिक स्थानमा पूर्णरुपमा सहभागी हुन पाउनु पर्ने, उनीहरुको पहुँच अन्य नागरिक सरह हुनुपर्ने मा राज्यको नीति तथा कार्यक्रम कार्यान्वयन अझै हुन नसकेको अध्यक्ष शेर्पाको गुनासो छ ।
प्रकाशित समय : ०७:४७ बजे