शेयर कारोबारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिबद्ध रहेको अर्थ मन्त्री शर्माको भनाई

वि.सं.२०७८ असोज ५ मंगलवार

काठमाडौं । असोज ५ गते
शेयर कारोबारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिबद्ध रहेको अर्थ मन्त्री जनार्दन शर्माले बताउनुभएको छ । आज अर्थ मन्त्रालयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानामाथि जाँचबुझ गर्न गठित समितिको प्रतिवेदन बुझ्दै अर्थ मन्त्री शर्माले शेयर कारोबारमा ठूलो सङ्ख्यामा नागरिक सहभागी भइरहेको भन्दै शेयर कारोबारमा आउने सर्वसाधारणको हितको रक्षा गर्नु सरकारको दायित्व भएको बताउनुभएको हो ।
उहाँले मन्त्रीका कारणले शेयर बजार घटबढ नहुने बताउनुभएको छ । शेयर बजार आफ्नै नियम र पद्धतिमा अघि बढ्ने विषय भएकाले मन्त्रीका कारणले शेयर बजार घटबढ हुने कुरा नभएको अर्थ मन्त्री शर्माले बताउनुभयो । कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेले छानबिन प्रतिवेदन अर्थ मन्त्री जनार्दन शर्मासमक्ष बुझाउनुभएको हो ।
प्रकाशित समय : १२:१० बजे