शेयर लगानीकर्ताले मागे राष्ट्र बैंकका गभर्नर अधिकारीको राजीनामा

वि.सं.२०७८ भदौ २० आइतवार

काठमाडौं । शेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजनीनामा माग गरेका छन् । आफ्नो सम्पत्ति धितोमा राख्दा क्षमताअनुसार ऋण लिन पाउने हकलाई अप्ठेरो बनाउँदै शेयर धितो ऋणमा सीमा तोकिदिएको भन्दै लगानीकर्ताहरु अधिकारी सगँ रुष्ट बनेका छन्।
राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै शेयर धितोमा ऋण लिन सक्ने नियम बनाएको छ । करोडौं रकमको शेयर भएपनि त्यो धितोमा राखेर जम्मा १२ करोड रुपैयाँमात्रै ऋण लिन अब सकिने छ ।
बजारमा निकै ठूलो नकरात्मक असर पार्ने निर्णय गरेको भन्दै लगानीकर्ताहरुले रामकृष्ण ढकालको संयोजकत्वमा पुँजी बजार सुधार संर्घष समिति नै गठन गरेको छ ।यो समितिले विज्ञप्ति जारी गर्दै गभर्नर अधिकारीले तत्काल राजीनामा दिनु पर्ने माग अघि सारेको छ ।
प्रकाशित समय : ०७:३६ बजे