नेकपा (एमाले) को कार्यदलको बैठक सिंहदरबारमा सुरु

वि.सं.२०७८ असार २५ शुक्रवार
काठमाडौँ– नेकपा (एमाले) को कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ ।
एमालेको विवाद मिलाउन केही समयदेखि क्रियाशील कार्यदलको बैठक पटकपटक बस्दै आएको छ ।
पार्टीको विवाद समाधान गर्न गठित कार्यदलको बैठक हिजो केहीबेर बसेर बैठक विहिबार साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
अनौपचारिक रूपमा लगभग सहमतिको साझा प्रस्ताव तयार भएपछि औपचारिक वार्ता भइरहेको नेताहरूले बताएका छन् तर वार्ता भने निष्कर्षमा पुग्न सकेको छैन ।
आजको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट दोस्रो तहका एमाले नेताहरू कार्यदलमा रहेका छन् । अध्यक्ष ओली २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा पार्टी सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बन्ने स्थिति सिर्जना भएको हो ।
कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल, विष्णुप्रसाद रिमाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट डा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, विष्ट र रघुजी पन्त रहेका छन् ।
प्रकाशित समय : ०९:२६ बजे