लक्की फिल्मी अवार्डको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बसुन्धरा भुसाललाई

वि.सं.२०८० साउन २९ सोमवार

सात वर्षको उमेरमा रंगमञ्चबाट कलाकारिता सुरु गरेकी विशिष्ट हास्यकलाकार भुसालको फिल्मी यात्रा पहिलो नेपालमा खिचिएको नेपाली फिल्म ‘आमा’ बाट भएको थियो । नेपाली रजतपटमा २०२२ सालदेखि निरन्तर नेपाली फिल्ममा आफ्नाे उपस्थिति जनाइरहेकी भुसाल सदाबहार अभिनेत्रीको रुपमा परिचित छन् । आमा फिल्ममा ‘भुन्टी’ को भूमिकाबाटै नेपाली सिने क्षेत्रमा प्रवेश गरेकी नेपाल चलचित्र जगतकी पहिलो महिला विशिष्ट हास्य कलाकार भुसालले एक सय ६५ वटाभन्दा बढी नेपाली चलचित्रमार्फत दर्शकको मन जितिसकेकी छन् ।
नेपाली सिनेमा जगतको संरक्षण र जर्गेना गर्ने उद्देश्यसहित फिल्मी अवार्ड गर्न लागिएको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ को भनाइ छ । ‘यो तरिकाको अवार्ड नेपालमै पहिलोपटक हुन्छ । जहाँ सबै कलाकारकर्मी, कलाप्रेमीले सम्मान र अपनत्व पाउनु हुन्छ,’ कार्कीले भने । अवार्डमा दुई दर्जनभन्दा बढी कलाकर्मी सम्मानित हुने उनले जानकारी दिए । चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्ने लक्ष्यसहित चितवनमा फिल्मी अवार्ड कार्यक्रम गर्न लागेको उनले बताए । लक्की मिडिया हाउसले गर्न लागेको फिल्मी अवार्डमा देशभरका सिने कलाकारहरुको जमघट चितवनमा हुने कार्कीले जानकारी दिए ।
प्रकाशित समय : ०७:२१ बजे