चीनले गर्याे अफगानिस्तानलाई सहयोग गर्ने घोषणा

वि.सं.२०७८ भदौ २४ बिहीवार

सत्ता कब्जा गरेको तालिबानले अन्तरिम सरकार घोषणा गरेको अर्को दिन चीनले अफगानिस्तानलाई सहयोग गर्ने भएको छ । चीनले मानवीय सहायता र कोरोनाभाइरसविरूद्धको सहयोग दिने घोषणा गरेको हो ।
बुधबार अफगानिस्तानका छिमेकी देशका विदेश मन्त्रीहरूबीच भर्चुअल छलफल भएको थियो। सो छलफलमा चिनियाँ विदेश मन्त्री वाङ यीले अफगानिस्तानलाई ३ करोड १० लाख अमेरिकी डलर बराबरको खाद्यान्नसमेतको सहयोग गर्ने घोषणा गरेको ग्लोबल टाइम्सले जनाएको छ । विदेश मन्त्री वाङले अफगानिस्तानलाई कोरोना महामारीविरूद्ध लड्न अरू स्वास्थ्य सामग्रीसहित ३० लाख डोज भ्याक्सिन पनि दिने बताएका छन्।
अफगानिस्तानका छिमेकी देशहरू पाकिस्तान, इरान, ताजिकिस्तान, उज्वेकस्तान, तुर्कमेनिस्तान र चीनका विदेश मन्त्रीबीचको छलफल पाकिस्तानले आयोजना गरेको थियो।
गत अगस्ट ३१ मा अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा अन्तर्राष्ट्रिय सहायता के हुने हो भन्ने अन्योल भएको छ।
अमेरिकालगायत पश्चिमा देशहरूले तालिबान सरकारलाई सहायता गर्न उसले महिला अधिकार र प्रजातान्त्रिक मूल्य, मान्यतालाई पछ्याउनु पर्ने र अफगान भूमिलाई आतंकवादी समूहको आश्रयस्थल बनाउन नहुने बताएका छन्।
तालिबानहरूले अन्तरिम सरकारमा महिलालाई समावेश नगरेको र अधिकार माग्दै प्रदर्शन गरिरहेका महिलामाथि दमन गरिरहेकाले पश्चिमा मुलुकले अब अफगानिस्तानमा कसरी सहायता दिन्छन् भन्ने एकिन भइसकेको छैन।
उता, संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा छिट्टै खाद्यान्न संकट हुने चेतावनी दिएको छ।
अफगानिस्तानस्थित संयुक्त राष्ट्र संघका ह्युम्यानिटेरियन कोर्डिनेटर रामिज अलाकबारोभले एक महिनामै तीन अफगानमध्ये एक जनाले खान नपाउने अवस्था आउन सक्ने बताएका हुन्।
प्रकाशित समय : ०२:४१ बजे