पेरु क्रान्तिका नेता गोन्जालोको ८६ वर्षको उमेरमा निधन

वि.सं.२०७८ भदौ २७ आइतवार

काठमाडौं । भदौ २७ गते
पेरु क्रान्तिका नेता गोन्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ । उनी जेलमै रहेको अवस्थामा निधन भएको हो ।उनी सन् १९९२ देखि जेलमा थिए । आतंक फैलाएको आरोपमा उनलाई सरकारले आजीवन कारावासको सजायँ दिएको थियो ।
दार्शनिक नेता गोन्जालो विश्वभरका कम्युनिष्ट क्रान्तिकारीका प्रेरणाका स्रोत मानिन्छन् ।गोन्जालोको वास्तविक नाम अबिमेल गुजम्यान हो । उनको जन्म सन् १९३४ मा पेरुको दक्षिण तटमा अवस्थित मोलेन्डो शहर नजिक भएको थियो । सन् १९८१ बाट शुरु भएको पेरुको कम्युनिष्ट क्रान्तिले गम्भीर धक्का खायो ।
सन् १९९५ सम्म केन्द्रीय सत्ता कब्जा गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गरिसक्ने योजना सफल हुन सकेन । तर पनि पेरुमा १९९९ सम्म चलेको जनयुद्धको क्रममा ७० हजारको ज्यान गएको थियो ।साइनिङ पाथ राजधानी लिमासहित केन्द्रीय सत्ता पनि कब्जा गर्ने उद्देश्यको नजिक पुगिसकेको थियो ।
यसैक्रममा सन् १९९२ सेप्टेम्बर १२ तारिखका दिन राजधानी लिमा शहरको एक घरबाट गोन्जालो पक्राउ परे । उनलाई सैनिक जेलमा थुनेर आजीवन काराबासको सजायँ सुनाइयो । दोस्रो र तेस्रो तहसम्मका नेताहरु पनि पक्राउ परेका थिए ।
प्रकाशित समय : ०१:३१ बजे