back

सिभिल बैंकलाई ‘फरक’ र ‘बलियो’ बनाउने सीईओ पोखरेलका यस्ता छन् योजना (अन्तर्वार्ता)

सुनिल पोखरेल जसले बैंकिङ क्षेत्रमा करिब ३ दशक अनुभव बटुलेका छन् र केही समय अघि मात्र सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएका छन् । स्ट्याण्डर्ड चाटर्डमा १६ वर्ष, एनआइसी एशीयामा साढे ५ वर्ष, नबिलमा बैंकमा १ वर्ष, विदेशी बैंक (म्यानमार र अफगानिस्तान) मा ६ वर्ष काम गरेका उनी अहिले सिभिलको नेतृत्व सम्हाल्न पुगेका हुन् । केही वर्ष यता अन्य बैंकको तुलनामा कमजोर प्रदर्शन गर्दै आएको सिभिलले गत वर्ष व्यापारमा छलाङ मारेको छ । सधैं कमजोर बैंकको रूपमा हेरिने सिभिलले एकाएक कसरी फड्को मार्यो ? व्यापारका साथै अन्य सूचकमा उल्लेख्य वृद्धि हुनुको पछाडि कसको हात छ ? यी र यस्तै बैंकिङ क्षेत्रसँग सम्बन्धित विषयमा सीईओ पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

तपाईं पहिलोपटक वाणिज्य बैंकको प्रमुख कार्यकारी बन्नुभएको छ, कस्तो महशुस भइरहेको छ ?

डेपुटी सीईओको रूपमा काम गरिसकेको हुनाले भुमिकाको हिसाबले उति धेरै फरक हुँदैन । चुनौतीहरू भने पक्कै पनि बढेका छन् । यसका अलावा अतिरिक्त जिम्मेवारीको महशुस पनि भएको छ । अलिकति विषयवस्तुलाई हेर्ने दृष्टिकोणमा पनि फरक आएको छ, जुन स्वभावीक नै हो जस्तो लाग्छ । पहिला व्यवस्थापनको मात्र कुरा खेल्थ्यो दिमागमा भने अहिले सेयरधनीहरूलाई धेरै भन्दा धेरै ‘रिर्टन’ दिउँ भन्ने पनि लाग्दो रहेछ । जवाफदेहीता पनि अलि बढेको जस्तो लाग्छ ।

तपाईंले नेतृत्व गर्नुभएको बैंक तुलनात्मक रूपमा नयाँ भएको र अन्य कारणले पनि विभिन्न सूचकहरूका आधारमा पुछारमा रहेको छ । यसले तपाईंलाई दबाव महशुस गराएको छ कि यसै तल उसै तल भनेर झन् एउटा ‘कमफर्ट जोन’ मै राखेको छ ?

पुछारमा भएको बेलाको एउटा सहजता के हो भने त्यो भन्दा तल जाने ठाउँ नै हुँदैन । तर, यो बैंकमा काम शुरू गरेदेखि नै यो पुछारबाट माथि आउनुपर्छ भन्ने लागेकै थियो । त्यसैले तलको ‘कम्फर्ट जोन’मा नबसेर अब माथि जानुपर्छ भन्ने त लागेकै थियो पहिल्यैदेखि ।

अहिले अवस्थामा परिर्वतन आइसकेको छ । हामी ३ वटा बैंकहरूभन्दा माथि छौं, विभिन्न सूचकका आधारमा । नाफाको दृष्टिकोणले पनि अबको वर्षहरूमा हामी धेरै राम्रो गर्छौं भन्ने लाग्छ । हामीले गत आर्थिक वर्षमा धेरै राम्रो गरेका थियौं । वृद्धिको प्रतिशतका हिसाबले हामी पहिलो नम्बरमा छौं । अब १ खर्बको पोर्टफोलियो बनाउनका लागि त समय नै लाग्दैन ।

पहिला हाम्रो पूँजीको उपयोग नै भएको थिएन । म यो बैंकमा आउँदा हाम्रो ‘क्यापीटल एडिक्वेसी’ १९ प्रतिशत थियो । हामी त ‘ओभर क्यापिटलाइज्ड’ भएर बसेका थियौं । आजको मितिमा हाम्रो क्यापीटल एडिक्वेसी ११.५ प्रतिशतमा आएको छ । थप व्यवसाय विस्तारको लागि अब हामी डिबेन्चर जारी गर्ने योजनामा छौं ।

केही त्रैमासयता सिभिल बैंकको व्यवसाय तीव्र गतिमा बढिरहेको देखिन्छ । के त्यस्तो रणनीतिक छलाङ लगाउनुभयो ?

हाम्रो सबैभन्दा प्रमुख रणनीति नै सबै काममा ‘इफिसियन्सी’ (चुस्तता ?) हो । कुनै एउटा वा अर्को क्षेत्रको मात्र नभएर समग्र बैंककै इफिसियन्सी बढाएर काम गर्ने हाम्रो रणनीति हो ।

उदाहरणका लागि गत वर्ष हामीले ३० अर्ब भन्दा बढिले निक्षेप र कर्जा बढायौं । यत्रो व्यवसाय बढाउँदा सामान्यत कर्मचारी र सञ्चालन खर्च बढेर जाने हुन्छ । तर हाम्रोमा त्यस्तो भएन । हामीले कर्मचारी घटाएर व्यवसाय वृद्धि गरेको हो । हामीले १०२० जनाबाट ९५७ मा कर्मचारी संख्यालाई ल्याएका छौं ।

यो कसरी संभव भयो त ? यसको प्रमुख कारण भनेको हामी आन्तरिक डिजीटाइजेशनमा धेरै केन्द्रित भयौं । धेरै कुरा अहिले हामीले डिजिटाइजेशन मोडलबाट गर्ने गरेका छौं । डिजीटाइजेशन भनेको हाम्रो आन्तरिक कुरा भयो । डिजिटालाइजेशन भनेको ग्राहकहरूले अनुभव गर्ने कुरा भयो । विगतका केही वर्ष हामी डिजिटाइजेशनमा केन्द्रित भएका थियौं । यो कारणले गर्दा कर्मचारी संख्या कम हुँदा पनि प्रणालीले काम गरिरहेको छ । यसले हाम्रो काममा इफिसियन्सी ल्याएको छ ।

अबको दिनमा बैंकहरूको प्रतिस्पर्धा पनि इफिसियन्सी कै क्षेत्रमा हुन्छ । जुन बैंक बढी इफिसियन्ट भयो त्यसैले बढि रिर्टन दिने हो । यसका अलावा हामी अहिले कुन क्षेत्रमा केन्द्रित भएर व्यवसाय गर्ने भन्नेमा पनि प्रष्ट भएका छौं । हामी अहिले साना तथा मझौला व्यवसाय, रिटेल र मध्यम खाले कर्पोरेटमा बढी केन्द्रित भएका छौं ।

नेपालमा एकै प्रकृतिको काम गर्ने थुप्रो बैंकहरू छन् । अरूभन्दा फरक नदेखिइ टिक्नै गाह्रो हुने देखिन्छ । अझ तपाईंहरू त झन् नयाँ बैंक । अरूभन्दा फरक देखिएर अगाडि बढ्नका लागि तपाईंको सोच वा रणनीति चाहिँ कस्तो छ ?

पहिलाे कुरा त के हो भने बैंकिङ क्षेत्रमा धेरै इनोभेशन गर्ने ठाउँ छैन । विश्वभरका बैंकहरूले बेच्ने भनेको उस्तै खाले उत्पादनहरू नै हो । निक्षेप, अटो लोन, होम लोन जहाँको पनि उस्तै हो ।

अब बैंकले आफूलाई अरू भन्दा फरक ढंगले कसरी उभ्याउने त भन्दा पहिले हामी गुणस्तरी सेवाको कुरा गथ्र्यौं । अब भने हामी ग्राहकहरूको अनुभवको कुरा गर्न थालेका छौं । हामीले के दियौं भन्दा पनि ग्राहकहरूले के लिए भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसैले अबको दिनमा हामीले गर्ने भनेको ग्राहकहरूको अनुभवलाई दुरुस्त बनाएर जाने हो । यसका लागि कस्ता कस्ता खाले नयाँ उत्पादनहरू ल्याउने भन्नेमा हामी केन्द्रित छौं ।

यसरी अरूभन्दा फरक देखिएर अघि बढ्न प्रतिबद्ध हुनुको अर्थ तपाईंहरू आफ्नै अस्तित्व कायम राख्न चाहनुहुन्छ र मर्जमा जान त्यति इच्छुक हुनुहुन्न भन्ने हो ?

मर्जको कुरा त सधैं खुल्ला नै छ । तर त्यसको निर्णय व्यवसायीक ढंगले हुनुपर्यो । भनाइको मतलब मर्जमा गएपछि संस्थाको ग्रोथ हुनुपर्यो, भ्यालु बढ्नुपर्यो र सिनर्जी आउनुपर्यो । बैंकहरू मर्ज मात्र गरेर मात्र पूँजी बढाएर त केही हुनेवाला छैन ।

अब अहिले हामी आफ्नो हिसाबले राम्रैसँग अघि बढिसकेको हुनाले पहिलाको जस्तो मर्ज नगरी नहुने भन्ने अवस्थामा पनि छैनौं, मर्जको ढोकै बन्द गरेर बसेको अवस्था पनि होइन ।

राष्ट्र बैंक बैंकहरू मर्ज गराउन प्रतिबद्ध रहेको संकेतहरू देखिन्छन् । गर्न त तपाईंहरूले पनि एउटा ठूलो फाइनान्स कम्पनी मर्ज गर्नुभएको थियो । तर, त्यसले संस्थालाई गति दिन सकेन । मर्जले मात्र संस्थामा सिर्नजी ल्याउँछ भन्ने कुरा सत्य होइन रहेछ है ?

त्यो बेला पूँजीमा सिनर्जी आएको थियो । पूँजी चाहिएको बेला मर्ज गर्दा पूँजी बढ्यो । त्यो ठीकै भयो । तर अहिले पूँजी होइन कि व्यवसायिक सिनर्जी चाहिएको अवस्था हो । मर्ज गर्दा कुन क्षेत्रमा सिनर्जी ल्याउन खोजेको हो त्यसमा भने प्रष्ट हुनैपर्छ ।

राष्ट्र बैंकले एकैपटक सबै वाणिज्य बैंकहरूको ४ गुणाले पूँजी बढाइदियो । त्यसले पनि सिभिल जस्तो केही नयाँ बैंकहरूलाई अलि पछाडि धकेल्यो नि होइन ?

त्यो बेला हाम्रो जस्तो बैंक ओभर क्यापिटलाइज्ड त भएकै हो । आफ्नै ढंगले व्यवसाय बढाउँदै र व्यवसायको माग अनुसार पूँजी बढाउँदै लगेको भए सायद अवस्था अलि सहज हुने थियो ।

अब प्रसंग बदलौं । पछिल्लो समय डिजिटल बैंकिङ नै बैंकिङ क्षेत्रको भविष्य हो भनिँदै आएको छ । कोरोना महामारीले त झन् यसको गति अझैं बढाइदिएको छ । यसमा अब जो प्रतिबद्ध भएर लाग्छ त्यसैले बाजी मार्ने देखिन्छ । यसलाई सिभिल बैंकले कसरी लिएको छ ?

माथि नै पनि भनियो हामी डिजिटाइजेशन र डिजिटलाइजेशनको बाटोमा लागिसकेका छौं । अब त झन् भर्चुअलाइजेशनको –शाखा बिनाको बैंक– कुरा आइसकेको छ । फिजिटल (एकदमै कम मान्छेले काम गर्ने शाखा) शाखाको पनि अवधारणा आइसकेको छ । हामी यसमा प्रष्ट र प्रतिबद्ध छौं । यी सबै गर्नका लागि प्रविधिको अभाव छैन । हामी अहिले धेरै कामलाई केन्द्रिकृत पनि गरिसकेका छौं ।

नेपालको बैंकिङ क्षेत्रमा पछिल्लो केही दशकमा बहुआयामिक ढंगले उल्लेख्य विकास भएको छ । तर, जसरी अन्य क्षेत्रको विकास भएको छ त्यसैगरी वित्तीय पहुँचको विकास भने नभएको देखिन्छ । अहिले पनि एउटा साधारण नेपालीले बैंकबाट ऋण लिएर सानो व्यवसाय गर्छु भनेर सोच्नै सक्दैन ।

धितो नराखी ऋण नै पाइँदैन वा सामान्य मानिसका लागि पक्रिया धेरै झन्झटिलो छ । यसमा तपाईंको के धारणा छ ?

यसमा म पूर्ण सहमत छु । धितो नराखी ऋण नपाउने अवस्था पनि होइन । तर, वित्तीय पहुँचको सन्दर्भमा समस्या कहाँ छ भने कसलाई (कुन वर्ग) कति ऋण चाहिएको छ भन्ने हामीसँग तथ्याङ्क नै छैन । मानिसहरू बैंकिङ प्रणालीमा जोडिएका नै छैनन् ।

एशिया, अफ्रिकाका कतिपय देशहरूमा ‘सिस्टम ड्रिभन’ लोनहरू दिने गरिन्छ । यस्ता ऋणहरू डिफल्ट पनि हुँदैनन् । यो भनेको कस्तो भने मान्नुस कुनै किसानलाई बाली लगाउन ५ लाख रुपैयाँ चाहियो । १ लाख रूपैयाँ खनजोत गर्न, १ लाख रूपैयाँ बीउ किन्न, अर्को १ लाख मलखाद किन्न र बाँकी २ लाख अन्य खर्चका लागि चाहियो ।

अब सिस्टम ड्रिभन लोन भनेको कस्तो भने त्यो किसानले ५ लाख रुपैयाँ तुरुन्तै पाउँछ तर उसले २ लाख रूपैयाँ भन्दा बढी नगद निकाल्न पाउँदैन । १ लाख रुपैयाँ उसले बीउ पसलमै गएर मोबाइल बैंकिङबाट तिर्नपर्यो । अर्को १ लाख मल पसलमै गएर त्यसैगरी तिर्नुपर्यो ।

र, जब उसको अन्न उब्जिन्छ र उ निश्चित ठाउँमा गएर अन्न बेच्न जान्छ । उसले त्यहाँ बेचेको पैसा पनि अटोमेटिकल्ली बैंकिङ सिष्टममा आउँछ र ऋण तिरिन्छ ।

यहाँ भन्न खोजेको कुरा के हो भने ऋण चाहिएका सामान्य मानिसहरूलाई एउटा इन्टिग्रेटेड सिस्टम भित्र ल्याउनु पर्यो । अहिले प्रविधिको माध्यमबाट त्यो गर्न सकिन्छ । वित्तीय पहुँचको समस्या पनि यही प्रणालीको निर्माणबाट हल गर्न सकिन्छ । यसको अग्रसरता कसले कसरी लिने भन्ने मुख्य कुरा हो ।

गरिब तथा विपन्न वर्गमा बैंकहरूले लगानी गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । तर, बैंकहरू आफैं नगरेर माइक्रोफाइनान्स लगायत संस्थाहरूको माध्यमबाट गर्ने गरेका छन् । यसले त्यो व्यवस्था प्रति न्याय गरेको छ ? वा, यसै झारा टार्ने जस्तो काम भएको छ ?

अहिलेसम्म त ठीकै छ । आफ्नो माइक्रोफाइनान्सलाई ऋण दिएर काम गर्ने त्यति नराम्रो मोडल होइन । आखिर त्यो वर्गमा जाने कुरा मुख्य हो । जहाँ सम्म बैंकले नै किन नगर्ने भन्ने प्रश्न छ, कुनै ठोस प्रणाली बिना बैंकको लागि त्यो ‘भायबल’ बिजनेश नहुन सक्छ । तर कुनै सिस्टमको विकास भएको सन्र्दभमा बैंकहरू पनि यो काम गर्न खुसी नै हुन्छन् होला भन्ने लाग्छ ।

माथिका विभिन्न प्रश्नहरूका जवाफले नेपालको बैंकिङ क्षेत्रको बारेमा तपाईंको बुझाइ र सिभिल बैंकको आगामी रणनीतिको केही छनक दिन्छन् । अब सीधै भन्दिनुस्, अबको ५ वर्षमा सिभिल बैंक कस्तो र कत्रो बैंक बन्नेछ ?

अहिलेको हिसाबले हेर्ने हो भने पनि अबको ५ वर्ष अरू कुरा नभए पनि हामी नेपालको सबैभन्दा इफिसियन्ट बैंक मध्येको बन्छौं, सबै दृष्टिकोणले । यो अवधिमा हामी पूर्णरूपमा डिजिटालाइज्ड बैंक बन्छौं । भर्चुअल बैंकिङको क्षेत्रमा पनि यो बैंक अघि बढिसकेको हुनेछ । यो भयो भने सेयरधनीको रिर्टन पनि सोही अनुसार बढिहाल्छ ।


नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:४०

काठमाडौं । मंसिर १२ गते नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण...

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३६

काठमाडौं । मंसिर १२ गते नेपाली कांग्रेस बलियो भएमा मात्र...

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३१

काठमाडौं । मंसिर १२ गते अर्थमन्त्री जनार्दन शर्माले जनताको सहयोग...

ओलीलाई बाबुराम भट्टराईले दिए स्टालिन र हिटलरको संज्ञा

ओलीलाई बाबुराम भट्टराईले दिए स्टालिन र हिटलरको संज्ञा

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:२४

काठमाडौं । मंसिर १२ गते जनता समाजवादी पार्टी (जसपा) नेपालका...

सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्न आज बिहान सीसीएमसीसीको बैठक बस्दै

सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्न आज बिहान सीसीएमसीसीको बैठक बस्दै

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:०६

काठमाडौं । मंसिर १२ गते आज बिहान सीमा नाकामा कडाइ...

नयाँ भेरियन्टले पुनः महामारीको रूप लिन सक्ने डब्लुएचओको संकेत

नयाँ भेरियन्टले पुनः महामारीको रूप लिन सक्ने डब्लुएचओको संकेत

वि.सं.२०७८ मंसिर १२ आइतवार ०१:४९

काठमाडौं । मंसिर १२ गते कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ युरोप...