पार्टीमा समानान्तर गतिविधि नरोकिए कारबाही गर्ने मिश्र पक्षको र न्याय तथा सुशासन आयोग बनाउन प्रक्रिया थाल्ने पाण्डे पक्षको निर्णय

वि.सं.२०७८ भदौ १८ शुक्रवार

काठमाडौं । भदौं १८ गते
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षको केन्द्रीय कमिटी बैठकले पार्टीमा समानान्तर गतिविधि नरोकिए कारबाही गर्ने निर्णय गरेको जानकारी दिनु भएको छ । बिहीबार बसेको बैठकले संयोजक मिलन पाण्डे पक्षका नेताहरुलाई सचेत गराउँदै पार्टी हित विपरीतको समानान्तर गतिविधि तत्काल रोक्न निर्देशन दिने निर्णय गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले बताउनु भएको छ ।
बैठकले सामाजिक सञ्जालमा पार्टी र अध्यक्ष मिश्रविरुद्ध अमर्यादित टिप्पणी गर्नेलाई पनि त्यस्तो गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ । त्यस्ता गतिविधिलाई निरन्तरता दिए कारबाही गर्ने भनिएको छ ।
आगामी केन्द्रीय समिति बैठकमा असन्तुष्ट सदस्यहरुलाई पनि सामेल गराउन यथाशक्य प्रयास गर्ने र एक साताभित्र अध्यक्षले अर्को बैठक बोलाउने पनि निर्णय भएको छ । बैठकले केन्द्रीय समिति बैठक सञ्चालनको कार्यविधि मस्यौदा पेश गर्ने जिम्मा अध्यक्ष मिश्रलाई दिएको छ ।मिश्र पक्षको बैठकमा १०१ जना सदस्य सहभागी थिए ।
त्यस्तै विवकेशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्षले न्याय तथा सुशासन आयोग बनाउने प्रक्रिया थाल्ने निर्णय गरेको छ । त्यसका लागि कार्यविधि आवश्यक पर्ने भएकाले सचिवालय सदस्य आशुतोष तिवारीको संयोजकत्वमा मस्यौदा समिति बनाउने निर्णय भएको सञ्चार विभाग उपप्रमुख हरिश भट्टले बताए ।
प्रकाशित समय : ०१:५५ बजे