राष्ट्रियताको विषयमा खुट्टा कमाए सरकारविरुद्ध आन्दोलन गर्ने सत्तारुढ माओवादी निकट अखिल क्रान्तिकारीको चेतावनी

वि.सं.२०७८ भदौ २३ बुधवार

काठमाडौं । भदौ २३ गते
राष्ट्रियताको विषयमा खुट्टा कमाए सरकारविरुद्ध आन्दोलन गर्ने सत्तारूढ माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले चेतावनी दिएको छ ।अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले मंगलबार राजधानीको आरआर क्याम्पसमा आयोजित कार्यक्रममा देउवा सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिनु भएको हो ।
उहाँले राष्ट्रिय अस्मिता र स्वाभिमानको रक्षा नगरे विद्यार्थी आन्दोलनको निशाना देउवा सरकारतर्फ सोझिने बताउँदै ‘एमसीसीका नाममा भइरहेको अमेरिकी हस्तक्षेप र जयसिंह धामी प्रकरणमा भएको भारतीय दादागिरीका विरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुन नसकेको जिकिर गर्नु भएको छ ।
उहाँले ‘राष्ट्रिय एकता र सहमति विना जबर्जस्ती एमसीसी पास गर्ने हर्कत गरिए विद्यार्थी आन्दोलनको आँधीबेहरीले देउवा सरकारलाई नै बढार्ने चेतावनी दिनु भएको छ । बस्नेतले पछिल्लो चरणमा भारतीय हैकमवाद र अमेरिकी हस्तक्षेप बढ्न थालेको भन्दै राष्ट्रियताको विषयमा खुट्टा नकमाउन सरकारलाई आग्रह समेत गर्नु भएको छ ।
प्रकाशित समय : ०२:०४ बजे