संविधान दिवसको अवसरमा तीन दिनसम्म घरघरमा दीपावली गरेर मनाइने

वि.सं.२०७८ भदौ २४ बिहीवार

काठमाडौं । सातौं संविधान दिवस तीन दिनसम्म घरघरमा दीपावली गरेर मनाउने सरकारले निर्णय गरेको छ । सरकारले नेपालको संविधान जारी भएको असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाउँदै आएको छ ।
संविधान दिवस २०७८ का अवसरमा आगामी असोज २ गतेदेखि ४ गतेसम्म राष्ट्रिय दिवसका रुपमा दीपावलीसहितका कार्यक्रम गरेर संविधान दिवस मनाउने निर्णय सरकारले गरेको हो ।
संविधान दिवसका अवसरमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा दीपावलीलगायत कार्यक्रम गर्ने सरकारको तयारी छ । संविधान दिवसलाई राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।
मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमितिको बुधबार बसेको बैठकले संविधान दिवसको प्रचारप्रसारका लागि सरकारी, सामुदायिक तथा निजी क्षेत्रका सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
संविधान दिवसको शुभकामना सन्देश वा एसएमएस नेपाल टेलिकममार्फत व्यापक रुपमा पठाउने तयारी समितिले गरेको छ । नेपाली सैनिक मञ्च, टुँडिखेलमा हुने औपचारिक समारोहको प्रत्यक्ष प्रसारण भने नेपाल टेलिभिजन र रेडियो नेपालले गर्नेछन् ।
प्रकाशित समय : ०२:५८ बजे