तपाईंको मास्क खोई ?कार्यक्रममा ११ लाख ३७ हजार ६ सय ३०जनालाई निःशुल्क मास्क वितरण

वि.सं.२०७८ असोज ३ आइतवार

प्रेस चौतारा । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३५ जनालाई निः शुल्क मास्क वितरण गरिएको छ । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई?’ कार्यक्रममा गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ११ लाख ३७ हजार ६ सय ३० जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।
कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ३४ जनालाई ३ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने २ सय ३६ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेट सहितको ३४ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत १ हजार ६ सय ८९ जनालाई सचेत गराइएको छ ।
प्रकाशित समय : ११:०५ बजे