निकास बिना सकियो आजको सर्वदलीय बैठक

वि.सं.२०७८ असोज १४ बिहीवार

काठमाडौं । असोज १४ गते
आज संसदको गतिरोध अन्त्यको प्रयास स्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठक ठोस निर्णय बिना सकिएको छ ।संसदमा अवरोध गर्दै आएको नेकपा एमालेले बहिष्कार गरेको बैठकमा समसामयिक राजनीतिक घटनाबारे छलफल भए पनि ठोस निर्णय नभएको हो ।
एमालेले नेकपा (एकीकृत समाजवादी) लाई दल स्वीकार नगर्ने र उ सहभागी हुने बैठकमा नजाने भन्दै बहिष्कार गरेको थियो ।संसदमा लगातार अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमाले नै नआएपछि समस्या समाधानबारे खास छलफल हुन सकेन ।प्रधानमन्त्री देउवाले समस्या समाधानका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने तयारी गरेका छन् ।
छलफलमा सहभागी अरु दलका नेताहरुले पनि सोही अनुसारको सुझाव दिएको जनाइएको छ ।संसद अवरुद्ध हुँदा जनताको काममा प्रत्यक्ष प्रभाव परेकाले एमालेलाई परिवेशको आँकलन गरि सहकार्य गर्न आग्रह गर्ने निर्णय भएको बैठकपछि कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
प्रकाशित समय : ०६:३४ बजे