कानुन, विधि र नियमअनुसार सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने छु – पर्यटनमन्त्री किराती

वि.सं.२०७९ माघ ३ मंगलवार

काठमाडौं, माघ ३ गते । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको एक मात्र राष्ट्रिय ध्वजाबाहकमा देखिएको विकृति तथा विसङ्गतिलाई हटाएर गौरव गर्न लायक संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री किरातीले निगमलाई निगम जस्तो बनाउने बताएका छन् । यस्तै, उनले हवाई सुरक्षामा विशेष ध्यान दिने बताएका छन् । उनले हवाई उडानलाइ व्यवस्थित बनाउँदै यसलाई सुरक्षित बनाउनका लागि काम गर्ने उल्लेख गरेका छन् ।
मन्त्री किरातीले आफन्त, भनसुन र नातागोताका आधारमा कुनै पनि काम नहुने स्पष्ट पारेका छन् । आफूले कानुन, विधि र नियमअनुसार नै सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने उहाँको भनाइ थियो । कोरोना कहरपछि समस्यामा परेको पर्यटन क्षेत्रलाई उकास्न आफू लागिपर्ने उल्लेख गर्दै उनले मुलुकको आर्थिक उन्नतिको केन्द्रमा रहेको पर्यटन क्षेत्रको उन्नयनमा लागिपर्ने स्पष्ट पारेका छन् ।
हवाई सुरक्षामा विशेष पहल गर्दै थप सुरक्षित बनाउने गरी सबै निकायसँगको समन्वयमा काम गर्ने मन्त्री किरातीको भनाइ छ । उनले भने ,“काम गर्ने वातावरण बनाउनका लागि सबैभन्दा पहिलो सरसफाइ हुने भएकोले विमानस्थलदेखि सबै क्षेत्र अब सफा राख्न निर्देशनसमेत दिन चाहन्छु ।” नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य किराती मुलुकको ४०औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका हुन ।
प्रकाशित समय : १०:२० बजे