कमेडी च्याम्पियनको सिजन २ का विजेता भरतमणि पौडेल आफुले पाउनु पर्ने भन्दा लगभग आधा पुरस्कार रकम मात्रै पाएको गुनासो

वि.सं.२०८० जेठ २ मंगलवार

काठमान्डौ । कमेडी च्याम्पियनको सिजन २ का विजेता भरतमणि पौडेलले एक वर्ष पछि आफुले पाउनु पर्ने भन्दा लगभग आधा पुरस्कार रकम मात्रै पाएको बताएका छन् । कमेडी च्याम्पियनका विजेताले पाउनु पर्ने पुरस्कारको रूपमा एउटा कार र नगद २५ लाख भनिएता पनि पौडेलले १४ लाख २५ हजार मात्रै पाएको बताएका छन् ।
प्रतिष्ठित एक टेलिभजिन सो को कुराकानीमा भरतमणिले भनिएको रकमभन्दा करिब आधा मात्रै पाएको बताएका छन् । विजेता बनेको एक वर्ष पुग्न लाग्दा यति रकम पाउँदा आफू अचम्ममा परेको उनले बताएका छन् । पुरस्कार राशिमा आकस्मिक लाभांश करका साथै विभिन्न कर काटिएपछि उनको हातमा यति रकम परेको हो । उनले भने, ‘यति थोरै रकम आउँछ भने मलाई थाहा थिएन । अलि– अलि त काटिएला भन्ने सोचेको थिएँ तर झन्डै आधा नै काटिँदा अचम्ममा परेँ ।’उनले भने, ‘ के– के कुरा काटियो भनेर पछि सोध्दा करको सूची नै देखाउनुभयो । केही भन्न पनि मिलेन । ’
उनका अनुसार आफूले पुरस्कारमा पाएको कारको पनि विभिन्न कर त्यही रकमबाट काटिएको हो । यद्यपि, अहिले आएर दुःख मानेर, असन्तुष्ट व्यक्त गरेर पनि केही नहुने भन्दै आफूले अब चित्त बुझाएको पनि उनले बताएका छन् । तर जुन कार पुरस्कार स्वरुप पाएका थिए त्यो पनि आफ्नो नाममा पास नगरिदिएको भन्दै गुनासो पोखेका छन ।
उनले विजेताले पाउने पुरस्कारमा कर नकाट्दिए र सुरुमा नै पुरस्कार राशि धेरै नभन्दिए हुन्थ्यो भनेर सुझाव दिएका छन् । उनले भनेका छन्, ‘थोरै भए पनि यति पाइन्छ भनेर पहिले नै भनिदिएको भए हुन्थ्यो होला ।
प्रकाशित समय : ०६:१६ बजे