आजदेखि भक्तजनको लागि पाथीभरा दर्शन खुल्ला

वि.सं.२०७८ असोज १ शुक्रवार

काठमान्डौ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामाताको दर्शन गर्न भक्तजनहरुले आजदेखि पाउने भएका छ । कोरोना भाइरसको कारणले गर्दा विगत पाँच महिनादेखि दर्शन गर्न रोक लगाइएको थियो ।
हाल कोभिड–१९ को प्रभाव अलिक न्यून हुँदै गएकाले गर्दा र पाथीभरामाताको दर्शन गर्ने मुख्य मौसमसमेत सुरु भएकाले आजदेखि दर्शनका लागि खुला गर्ने निर्णय गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भक्तजनका लागि दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको हो।
कोभिडको जोखिम अझै पूर्णरूपमा अन्त्य भइनसकेकाले पाथीभरा दर्शनमा आउने तीर्थयात्रीलाई सरकारले लागू गरेका स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्नसमेत समितिले अनुरोध गरेको छ।
प्रकाशित समय : ०२:४३ बजे