मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता हो –प्रधानमन्त्री देउवा

वि.सं.२०७८ असोज ३ आइतवार

काठमाडौं । असोज ३ गते
सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई छ । आज सातौँ संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर्नु आवश्यक रहेको उल्लेख गर्नु भएको छ ।
संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता भएको प्रधानमन्त्री देउवाको भनाई छ ।
प्रधानमन्त्री देउवाले मुलुकको अग्रगामी परिर्वतनका लागि अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवर्तनका लागि भएका संघर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोरेका व्यक्तिलाई उच्च सम्मानपूर्वक स्मरण गर्नु भएको छ । उहाँले प्राकृतिक विपद् र कोभिड–१९ को महामारीबाट अकालमा ज्यान गुमाउन पुगेका दिदीबहिनी तथा दाजुभाईलगायत सबैमा श्रद्धासुमन व्यक्त गर्नु भएको छ ।
नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको सरकारका पालामा संविधानसभाबाट विसं २०७२ असोज ३ गते घोषणा भएको नेपालको संविधान लामो संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताउनु भएको छ ।
प्रकाशित समय : ०१:२९ बजे