वीरगञ्जमा पोखरीमा डुबेर २ बालकको मृत्यु

वि.सं.२०७८ असोज ३ आइतवार

प्रेस चौतरा। वीरगञ्ज महानगरपालिका–१२ मुर्लीमा रहेको पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ निवासी उमेश शाहका छोरा १३ वर्षीय प्रितम गुप्ता र दिनेश शाहका १७ वर्षीय छोरा आशिषकुमार शाहको पोखरीमा डुबेर मृत्यु भएको हो ।
शनिबार दिउँसो दुवै बालक घरबाट हराएका थिए । हराएको भनी प्रहरीमा आफन्तले खबर गरेपछि खोजतलास गर्ने क्रममा दुवै बालकको शव मुर्लीस्थित पोखरीमा फेला परेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताएका छन् ।
त्यस्तै शनिबार पर्साको बहुदरमाई नगरपालिका–४ स्थित तिलावे नदीमा डुबेर बेपत्ता युवक मृत अवस्थामा फेला परेका छन् । सोही नगरपालिका–२ पिपरा टोल बस्ने २२ वर्षीय श्यामकुमार साह मृत अवस्थामा भेटिएका हुन् ।
शनिबार विश्वकर्मा बाबाको मूर्ति सेलाउन गएका बेला नदीमा डुबेर बेपत्ता साहको शव नदीकै झाडीमा अडकेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।
उपरीक्षक खनालका अनुसार मृतक दुई बालकसहित युवकको शवलाई पोस्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको छ ।
प्रकाशित समय : ०७:५६ बजे