आफ्नो कार्यकालमा चीन र भारतसँग सन्तुलित सम्बन्ध हुन्छ –नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्का

वि.सं.२०७८ असोज ६ बुधवार

काठमाडौं । असोज ६ गते
आफ्नो कार्यकालमा चीन र भारतसँग सन्तुलित सम्बन्ध हुने नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले बताउनु भएको छ । आज दिउँसो सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले चीन र भारतबीचको सम्बन्ध अत्यन्त समधुर र घनिष्ठ हुने बताउनु भएको छ ।
यस्तै मन्त्री खड्काले परराष्ट्र नीति दल विशेषको नभएर सबैसँगको सहमतिमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । परराष्ट्र मन्त्रालयले अत्यन्तै महत्वपूर्ण जिम्मेवारीका साथ अघि बढ्नुपर्ने समय आएको र अन्तर्राष्ट्रिय परिवेश जसरी अघि बढिरहेको छ, त्यसले हाम्रो देशलाई पार्न सक्ने प्रभाव र सम्बन्धहरुमा सन्तुलन कायम राख्दै जिम्मेवारी निभाउनुपर्ने तर्क गर्नु भएको छ ।
मन्त्री खड्काले राष्ट्रिय हितको विषय भएकाले सबै दलको सहमति समेतलाई ध्यान दिएर, सबै नेताहरुसँग परामर्श र सहमति गरेर हाम्रा अहिलेका जल्दाबल्दा विषयहरु र भावी दिनमा आउन सक्ने विषयहरुलाई सम्बोधन गर्ने गरी काम गर्ने जिकिर गर्नु भएको छ । मन्त्री खड्काले एमसीसी र बीआरआईलगायतका विषयमा भने थप अध्ययन गरेर तथ्यगत र मिथ्यागत विषयहरुलाई समेत ध्यानमा राखेर नेपालको हितमा हुने गरी सबै राष्ट्रहरुसँग घनिष्ठ र सन्तुलित सम्बन्ध कायम गर्ने गरी अघि बढ्ने बताउनु भएको छ ।
प्रकाशित समय : ०८:४९ बजे