आज ३८ क्विन्टल सुन तस्करी मुद्दाको अन्तिम सुनुवाइ हुँदै

वि.सं.२०७८ असोज १० आइतवार

काठमाडौं । असोज १० गते
आजदेखि ३८ क्विन्टल सुन तस्करी मुद्दाको अन्तिम सुनुवाइ हुँदै छ । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दामा आजबाट अन्तिम बहस हुँदैछ ।
जिल्ला अदालत मोरङमा आजबाट अन्तिम बहस हुने भएको हो ।तस्करीको साढे ३३ किलो सुन गायब भएपछि तस्करको समूहको यातनाका क्रममा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा शाक्यको मृत्यु भएको थियो ।
हत्या अनुसन्धानका क्रममा सुन तस्करीको र्याकेट पत्ता लागेको थियो ।करिब चार वर्षअघि दर्ता भएको शाक्य हत्या तथा सुन तस्करीसँग सम्बन्धित मुद्दाको अन्तिम बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुने छ ।आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान गरेर चारवटा शीर्षकमा २०७५ वैशाख १९ गते उच्च पदस्थ प्रहरीसहित ६३ जना विरुद्ध मुद्दा दायर भएको थियो ।
प्रकाशित समय : ०४:३५ बजे