विराटनगरका लागि उडेको जहाज आकाशमा दुई घण्टासम्म फन्को मारेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

वि.सं.२०७८ असोज ११ सोमवार

काठमाडौं । असोज ११ गते
आकाशमा दुई घण्टासम्म फन्को मारेको बुद्ध एयरको जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गरेको छ ।विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा अवतरण भएको हो।
काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएको जहाज केहीबेर अघि अवतरण भएको हो। सामान्य अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको विमानस्थल स्रोतले जनाएको छ।विराटनगर गएको ९ एन एएनआई एटिआर जहाज विराटनगर विमानस्थलमा अवतरण हुन लाग्दा समस्या देखिएको थियो।
जहाजको ल्याण्डिङ गियरमा समस्या देखिएको बताइएको छ।उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा खुलेको थिएन । सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो ।
अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ(बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए ।
प्रकाशित समय : ०५:२८ बजे