लुम्बिनी प्रदेशलाई समृद्धि बनाउनको लागि उद्योग क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको छ–कुलप्रसाद केसी

वि.सं.२०७८ असोज १६ शनिवार

काठमाडौं । असोज १६ गते
लुम्बिनी प्रदेश र प्रदेशवासीको जीवनलाई समृद्धि बनाउनको लागि उद्योग क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीको भनाई छ । उहाँले प्रदेश सरकारले उद्योग मैत्री नीति निर्माण गरी प्रदेश समृद्धिको यात्रालाई अगाडि बढाउने बताउनु भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खानी र सिमेन्ट उद्योग सञ्चालकका बीचमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारसँग हातेमालो गरी समृद्धि प्रदेश निर्माणका लागि दत्त चित्त भएर लाग्नका लागि आग्रह गर्नु भएको छ। उहाँले खानी एक स्थानमा र उद्योग अर्को स्थानमा भएकाले गर्दा लागत रकम धेरै लागेको हुने भएकाले गर्दा त्यसलाई सकेसम्म न्यूनीकरण गर्नुपर्ने र वातावरणीय क्षतिलाई पनि ध्यान दिनुपर्ने बताउनु भएको छ ।
आर्थिक वर्षमा उद्योग तथा आपूर्ति मन्त्रालयबाट ५ अरब राजश्व जसरी भए पनि सङ्कलन गर्नुपर्ने बताउँदै त्यसका लागि उद्योगमैत्री ऐन निर्माण गर्न सकिने मुख्यमन्त्री केसीको भनाई छ । उहाँले उद्योगहरू मर्ज गरी एकीकृत योजना बनाएर अगाडि बढ्नु पर्ने बताउँदै साना उद्योगभन्दा पनि ठुला उद्योग सञ्चालन गर्नुपर्ने अहिलेको माग रहेको बताउनु भएको छ ।
प्रकाशित समय : ०१:३५ बजे