आजदेखि प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका दल दर्ता प्रक्रिया सुरु

वि.सं.२०७९ चैत ८ बुधवार

काठमाडौं , चैत ८ गते । आजदेखि प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु भएको छ । आगामी वैशाख १० गतेका लागि तय भएको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि दल दर्ता गर्न लागेको हो ।
यही चैतको १२ गतेसम्म दल दर्ता गरिसक्न आयोगले सूचना जारी गरेको छ । त्यसपछि अरु प्रक्रिया सुरु हुने आयोगले जनाएको छ ।विभिन्न कारणले रिक्त भएका तीन प्रतिनिधि सभा सदस्य पदका लागि वैशाख १० मा उपनिर्वाचन हुँदैछ । तनहुँ–१, बारा–२ र चितवन–२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।
तनहुँ–१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।यस्तै, चितवन२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि उपनिर्वाचन हुने भएको हो ।
प्रकाशित समय : ०३:१८ बजे