सरकारले तुरुन्त मिटरब्याज पीडितहरुको समस्याको समाधान गर्नुपर्छ– सभापति लामिछाने

वि.सं.२०७९ चैत १४ मंगलवार

काठमाडौं, चैत १५ गते । बर्दिबासबाट पैदल यात्रा मार्फत ११औँ दिनमा न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुले टंगालमा प्रदर्शन गरेका छन् ।बर्दिबासबाट पैदल यात्रा मार्फत ११औँ दिनमा काठमाडौँ आइपुगेका मिटरब्याज पीडितहरूले सडकमै काठमाडौँको पहिलो रात काटेका छन् । बिहान सबेरै उनीहरू बालुवाटारतर्फ लम्किएका थिए। प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका पीडितहरुलाई निषेधित क्षेत्रतर्फ जानबाट प्रहरीले रोकेपछि उनीहरुले टंगालमै बसेर प्रदर्शन गरेका हुन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने टंगाल पुगेर मिटरब्याज पीडितहरुलाई भेटेका छन् । सभापति लामिछाने आफू पीडितहरुको साथमा रहेको र सरकारले पीडितहरुको समस्याको समाधान गर्नुपर्ने बताएका छन् ।सभापति लामिछाने आफू पीडितहरुको समर्थन र विरोध भन्दा पनि समाधानको पहल गर्न आएको बताएका छन् ।
उनले भने आफू गृहमन्त्री हुँदा मिटरब्याज पीडितहरुको समाधान गर्न पहल गरेको भन्दै अहिले पनि त्यो पहल जारी राख्ने उनले बताए । उनले भने, ‘जाली तमसुक च्यातिनुपर्छ, गरिबलाई ऋणमुक्त बनाउनुपर्छ । त्यसका लागि मैले हस्ताक्षर गरेर हुने भए अहिले यहीँ नै हस्ताक्षर गर्न तयार छु ।
मिटरब्याज पीडितहरुले सडक क्षेत्रमा बसेर न्याय माग्दै नाराबाजी गरेका छन् । उनीहरुले तमसुक व्यस्था खारेज गर, मिटरब्याजीलाई कारबाही गर, हाम्रो जफत गरिएको सम्पत्ति फिर्ता गर, मिटरब्याजीविरुद्धको कानुन निर्माण गर लगायतका नारा लगाएका छन् ।
प्रकाशित समय : ०३:२० बजे