सुरक्षा निकायमा निष्पक्षता कायम गर्ने छु –गृहमन्त्री श्रेष्ठ

वि.सं.२०८० वैशाख ५ मंगलवार

काठमाडौं, बैशाख ५ गते । सुरक्षा निकायलाई दबाव र चलखेलबाट मुक्त गर्ने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबावबाट मुक्त राख्ने बताएका हुन् ।
उनले सुरक्षा निकाय हाम्रो गौरव हुुनुपर्ने भन्दै सुरक्षा निकायमा निष्पक्षता कायम गर्ने बताएका छन् । सुरक्षा निकायमा काम गर्ने साथीहरुको मनोबल गिर्यो, ममाथि निष्पक्ष व्यवहार भएन भन्न पर्यो भने मनोबल उठ्दैन’, उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले भने, ‘त्यसकारण सिस्टम स्थापित गर्ने र निष्पक्षताका आधारमा पदस्थापन, बढुवा र सरुवा गरिन्छ ।’
उनले गृह प्रशासनमा विचौलियाको भूमिकालाई शून्यमा झार्ने पनि उद्घोष गरेका छन् । उनले गृह प्रशासन र प्रहरीमा यसअघि रहेको धारणा नै परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । प्रहरीले अब गरिब, दलित, पिछडिएको, शक्ति केन्द्रमा धाउन नसक्ने जनतालाई प्राथमिकतामा राख्नुपर्ने पनि बताएका छन् ।
प्रकाशित समय : ०९:१० बजे