पुरानै अवस्थामा जग्गाको कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरीत –सांसद सुब्बा

वि.सं.२०८० वैशाख ६ बुधवार

काठमाडौं वैशाख ६ गते । जग्गाको कित्ताकाट खोल्ने निर्णय देश र वर्तमान परिवेशको विपरीत भएको प्रतिनिधि सभाकी सांसद सरस्वती सुब्बाले बताएकी छिन्। आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जग्गाको कित्ताकाट खोल्ने निर्णय सच्याउन सरकारलाई आग्रह गरेकी छन् ।
‘पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरीत छ। यसले जमिनको खण्डीकरण बढाउँछ। कृषि भूमि समाप्त पार्ने बाटो खोल्छ। प्राकृतिक जोखिम न्यूनीकरण र सीमान्तकृत समुदायको समस्या समाधानको बाटो बन्द गरिदिन्छ। जमिनमा दलालीकरण बढाउँछ। त्यसैले कित्ताकाट खोल्ने निर्णय सच्याउन म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन्।
सरकारले मंगलबार जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो । सरकारले भू–उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै पुरानै अवस्थामा जग्गाको कित्ताकाट खुला गरेपछि एमाले सांसद सुब्बाले विरोध जनाएकी हुन् ।
प्रकाशित समय : ०८:२१ बजे