चितवन–२ को मतगणना सुरू, मतदानस्थलमा तारजाली

वि.सं.२०८० वैशाख ११ सोमवार

काठमाडौं, वैशाख ११ गते । चितवन क्षेत्र नम्बर २ को मतगणना सुरू भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा तीन बुँदे सहमति भए पछि चितवन–२ को मतगणना सुरु भएको हो । इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तथा चितवनका प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आइतबार नेपाली कांग्रेसले मतगणनास्थलमा जान अस्वीकार गरेको थियो । दुबैलाई कारबाही गर्नुपर्ने माग राख्दै आएको कांग्रेसले आज बिहान तीन बुँदे सहमतिपछि मतगणना गर्न मञ्जुर भएकाले मतगणना सुरु गरिएको हो ।
रास्वपाका उम्मेद्वार लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको विषय केन्द्रमा लेखेर पठाउने, सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरु माथि कारबाहीका लागि प्रहरीलाई जानकारी गराउने, प्रमुख जिल्ला अधिकारीलाई मतगणनास्थलमा उपस्थित हुन नदिनेलगायतका सहमति भएको थियो ।
चितवन–२ मा लामिछानेसहित नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई मुख्य प्रतिस्पर्धी मानिएको छ । कडा सुरक्षाका साथ मतगणना स्थलको व्यवस्थापन मिलाएको जनाइएको छ । जसअनुसार मतगणना स्थललाइ तारजालीले घेरिएको छ ।
प्रकाशित समय : ०८:३७ बजे