भ्रष्टाचार कसरी हुन्छ भन्ने थाहा पाएर त्यस अनुसार अगाडि बढ्नु पर्छ –देवेन्द्र दाहाल

वि.सं.२०८० वैशाख २६ मंगलवार

काठमाडौं, बैशाख २६ गते । भ्रष्टाचार न्यूनीकरणका लागि के–के गर्ने हो त्यसबारे नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलको नेता देवेन्द्र दाहालले सरकारको प्रतिबद्धता माग गरेका छन् ।
आज राष्ट्रिय सभामा जारी प्रि–बजेट छलफलमा भाग लिँदै उनले भ्रष्टाचार कसरी हुन्छ भन्ने थाहा पाएर त्यस अनुसार अगाडि जानुपर्नेमा जोड दिए । ‘कर्मचारी र ठेकेदारको मिलेमत्तोमा भ्रष्टाचार हुँदा रहेछ । यसमा नेताहरु पनि मुछिन्छन् होला’ उनले भने ।
हस्ताक्षर गर्दा कर्मचारीले ‘साइनिङ मनि’ लिने प्रवृति रहेको उनको टिप्पणी छ । ‘‘कर्मचारीले सचिवले साइनिङ मनि लिने, दुई प्रतिशत, तीन प्रतिशत कति हुन्छ त्यो गोजीमा हालिहाल्ने,’ उनी थप्छन्, ‘ठेकेदारले मोबिलाइजेनशको रकम लिने । त्यो रकम अरु नै काममा लगाउने । यो भएपछि आयोजना लथालिंग हुन्छ । अगाडि बढ्दैन । वर्षौंदेखि यो क्रम बढिरहेको छ ।’यसरी विभिन्न माध्यमबाट भ्रष्टाचारको पुलिन्दा थपिंदै गइरहको उल्लेख गर्दै उनले सरकारलाई भ्रष्टाचार न्युनीकरणमा प्रष्ट हुन आग्रह गरे ।
प्रकाशित समय : ०६:०४ बजे