टोपबहादुर रायमाझीलाई कारवाही गर्न पार्टीले अवरोध गर्दैन–एमाले

वि.सं.२०८० वैशाख २७ बुधवार

काठमाडौं, बैशाख २७ गते । टोपबहादुर रायमाझी फरार हुनु उनको गल्ती भएको नेकपा (एमाले) ले ठहर गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनले प्रहरीमा उपस्थित भएर सत्यतथ्य उजागर गर्नुपर्नेमा एकाएक फरार भएर गल्ती गरेको एमालेको निष्कर्ष छ ।
वैशाख २८ देखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न मंगलबार बसेको केन्द्रीय सचिवलाय बैठकले फरार भएर उनले कानुन कार्यान्वयनमा असहयोग गरेको समेत निष्कर्ष निकालेको छ । अदालतले पक्राउ पुर्जी जारी गरिसकेको अवस्थामा अब रायमाझीले कानुन कार्यान्वयनमा सघाउनुको विकल्प नभएको एमालेको भनाइ छ ।
रायमाझीबारे आज बैठकको एजेण्डा नभएपनि नेताहरुले प्रश्न गरेपछि अध्यक्ष केपी शर्मा ओलीले एमाले कानुन भन्दा बाहिर नजाने बताएका थिए । उनले कानुन अनुसार रायमाझीलाई कारवाही गर्न पार्टीले अवरोध नगर्ने समेत बताएका थिए ।
‘एमाले कानुनी शासनको पक्षमा छ । त्यसैले कानुनविपरीत कसैले काम गरेको छ भने उ त्यसको सजाय भोग्न तयार हुनुपर्छ, पार्टी त्यसमा बाधक हुँदैन’, अध्यक्ष ओलीको भनाई उधृत गर्दै स्रोतले भन्यो, ‘तर वास्तविकता के हो भन्ने कुरामा राज्यले प्रमाण पेश गर्ला । सम्बन्धित व्यक्तिले पनि आफ्नो प्रमाण पेश गरेपछि थाहा हुने कुरा हो ।’
प्रकाशित समय : ०३:३२ बजे