निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई नीति तथा कार्यक्रममा प्राथमिकता दिनुपर्छः माधवकुमार नेपाल

वि.सं.२०८० जेठ २ मंगलवार

काठमाडौं, २ जेठ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउनका लागि आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिन नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारसँग माग गरेका छन् ।
उनले सो विमानस्थलको कामलाई अगाडि बढाउनका लागि सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा उल्लेख नगरिएको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति असन्तुष्टि समेत व्यक्त गरेका छन् ।
आज संघीय संसद् अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले सो विमानस्थलको महत्त्व अर्थमन्त्री महतले नबुझेको कि भनेर प्रश्न समेत गरेका थिए । अध्यक्ष नेपालले मुलुकको गेम चेन्जर प्रोग्रामको रुपमा रहेको सो विमानस्थललाई अघि बढाउन संसदीय समितिहरुलाई पनि विशेष ध्यान दिन आग्रह गरेका छन् । अध्यक्ष नेपालले ठूला शक्ति राष्ट्रहरुसँगको कूटनीतिक सम्बन्धलाई विशेष ख्याल गरेर अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आवश्यक निर्देशन सरकारलाई दिनुपर्ने बताएका छन् ।
प्रकाशित समय : ०८:४८ बजे