शरणार्थी प्रकरण, नेता खाणलाई अदालतले दोषी ठहर गरेमात्रै पार्टीले कारबाही गर्छ : प्रकाशमान सिंह

वि.सं.२०८० साउन १४ आइतवार

काठमाडौ, १४ साउन । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले काराबाही गर्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् ।
आज नेपाली कांग्रेस चितवनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले आरोप लाग्दैमा कारबाही गरिहाल्नुपर्छ भन्ने नरहेको स्पष्ट पारेका छन् । उनले अहिले अदालतमा विचाराधीन रहेको मुद्दामा कांग्रेसले पहिला पनि कारबाही नगरेको भन्दै खाणको विषयमासमेत मुद्दाको फैसला आएपछि मात्रै निर्णय गर्ने बताएका छन् ।
उनले पुरानो नजिरलाई लिएर खाणलाई कारबाही नगरिएको जिकिर गरेका छन् । उनले भने, “पहिले पनि यस्ता मुद्दामा अदालतको फैसलापछि मात्रै कारबाही गर्ने गरिएको थियो । त्यहीअनुसार अहिले कारबाही नगरिएको हो ।”
उनले कांग्रेस भ्रष्टाचारको संरक्षणमा भने नलाग्ने स्पष्ट पारेका छन् । उनले भने, “निष्पक्ष तवरले कानुनी राज्यको पक्षमा कांग्रेस रहेको छ । आफ्ना पार्टीका नेतालाई पर्दा कानुन लाग्नुहुँदैन भन्ने पक्षमा कांग्रेस नहरेको बताएका छन् ।
प्रकाशित समय : ०७:१८ बजे