ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका प्रेरणा स्रोत हुन् : राष्ट्रपति पौडेल

वि.सं.२०८० असोज १४ आइतवार

काठमाडौ, १४ असोज । ज्ञान, सीप र अनुभवका लागि प्रेरणाका स्रोतका रूपमा रहेका ज्येष्ठ नागरिकको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्नुपर्ने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।
तेत्तीसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई अन्तर पुस्तान्तरण गरी अत्यधिक उपयोग गर्नसके आर्थिक समृद्धि तथा सामाजिक सदासयता कायम गर्न ठूलो सहयोग मिल्ने विश्वास व्यक्त गरेका छन् ।
देशका युवाशक्ति अध्ययन र रोजगारीका लागि विदेशिएका र घर–घरमा ज्येष्ठ नागरिकमात्र बाँकी रहेको उल्लेख गर्दै उनले ज्येष्ठ नागरिकको अधिकारको संरक्षण, हित र कल्याणका लागि अब राज्यस्तरबाटै सोच्ने बेला भएको बताएका छन् ।
राष्ट्रपति पौडेले ज्येष्ठ नागरिकको संरक्षकत्व प्राप्त गरी बाजेबज्यैदेखि नातिनातिनासम्म सगोल परिवारमा रहने पूर्वीय दर्शनमा आधारित आदर्श परिवारको महत्व बुझ्न र बुझाउन आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षा शुभकामना सन्देशमा व्यक्त गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ज्येष्ठ नागरिकको सुस्वास्थ्य, दीर्घायु एवं सम्मानित जीवनको कामना समेत गरेका छन् ।
प्रकाशित समय : ०५:३१ बजे